काठमाठौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिनापछि आफूले सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पिने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
गत असारमा प्रधानमन्त्री नियुक्त भएदेखि नै सत्ताको आयू तोक्दै आएका ओलीले त्यसैलाई आज फेरि निरन्तरता दिए।
प्रधानमन्त्री ओलीले भने,‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं । अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’
गत असार १७ मा भएको ७ बुँदे सहमतिमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो।
प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।
त्यस्तै, प्रधानमन्त्री ओलीले सत्ता घटक नेपाली कांग्रेसले आफूलाई पूरा सहयोग गरिरहेको बताए। पूर्वसहमतिअनुसार कांग्रेसबाट पूरा साथ पाएको र कांग्रेस नेतृत्वको सरकारलाई पनि पूरा साथ रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।