काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी मन्त्री राणाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई नेपालको पक्षमा मतदान गर्न आग्रह गरेकी हुन् ।
जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ मन्त्री डा देउवाको सम्मानमा तथा विभिन्न देशका स्थायी नियोग र अन्तरराष्ट्रिय संघसंस्थाका प्रमुखका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर मत दिन आग्रह गरिन् ।
सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगका प्रमुख तथा राजदूत र विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा कार्यरत छ, मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ, यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ, संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु ।’
मन्त्री डा राणाले भनिन्, ‘नेपालको वर्तमान संविधानले नागरिकको स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अधिकारलाई मौलिक हकका रूपमा समेटेको छ, नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्णरुपमा प्रतिबद्ध रहिआएको छ ।’
उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पनि यथाशीघ्र टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् ।
मन्त्री डा राणाले पछिल्लो समयमा नेपालले बाल, महिला तथा अल्पसंख्यकको अधिकारका साथै समावेशताका क्षेत्रमा उपलब्धि हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रहिआएको पनि स्पष्ट पारिन् ।