काठमाडौं – आज आइतबार प्रदर्शनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सबै नेताहरू रिहा भएका छन् । आज सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपाका अध्यक्ष लिङ्देनसहितका नेताहरु रिहा भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए ।
पर्चासहित चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले आइतबार लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही लगायत नेताहरुलाई पक्राउ गरेको थियो ।
पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए ।
प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो । तर, त्यसलाई नसुनेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि अध्यक्ष लिङ्देनसहित आफ्ना नेताहरु पक्राउ परेपछि बाधा पुर्याउन खोजे प्रतिकार गर्ने भन्दै सरकारलाई चेतावनी दिएको थियो ।
आफ्ना अध्यक्षसहितका नेताहरुलाई पक्राउ गरेर संविधान प्रदत्त अधिकार हनन गरेको राप्रपाले आरोप लगाएको थियो । अध्यक्ष लिङ्देनसहितका नेताहरु पक्राउ परेपछि आकस्मिक बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो चेतावनी दिएको हो । तर, आइतबार साँझ नै पक्राउ परेका राप्रपाका अध्यक्षसहित सबै नेताहरुलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।