काठमाडौं-नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले चार वर्षको अवरोधपछि अब पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन् ।
आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार रहेका शर्माले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा सही गर्न अस्वीकार गर्दै आएका थिए ।
तर, गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी हस्ताक्षर गर्न सहमत भएका हुन् ।
पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, “उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका कुरामा उहाँले महसुस गर्नुभयो ।”
बैठकमा गत साउन ६ गते शर्माले दिएको “मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेका छन्” भन्ने अभिव्यक्तिबारे पनि छलफल गर्दै जाने निर्णय भएको सापकोटाले बताए।