काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा जारी निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेका छन् ।
रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ ।
यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान जारी छ ।
मतदान प्रक्रियामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् । आयोगले सबै प्रदेशमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाएको छ। मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिनेछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् ।