AarthikBikash
सोमवार, माघ १३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना

मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना

  • सोमवार, माघ १३, २०८२
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान महाशाखाले आगामी तीन दिन देशभरको मौसम प्रतिकूल हुने जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने जनाएको हो।

महाशाखाका अनुसार सोमबार मौसम सामान्यतया सफा रहे पनि मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

आजराति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति नै हल्का हिमपात वा वर्षाको सुरुवात हुन सक्नेछ।

मंगलबार दिउँसोबाट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा बादल लाग्ने र थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिमका बाँकी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार रातिबाट मौसममा पश्चिमी वायुको प्रभाव थप देखिनेछ। जसकारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात वा वर्षा हुनेछ भने पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना छ।

तराईका थोरै स्थानमा हल्का वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ।

बुधबार भने मौसम प्रणाली देशभर फैलिनेछ। बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा बाँकी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार रातिबाट आंशिक बादल मात्र लाग्नेछ भने मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ ।

गत साता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका वर्षासहित भारी हिमपात भएको थियो ।

सम्बन्धित समाचार