काठमाडौं– धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध उजुरी दर्ता भएको छ । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा उजुरी दर्ता गराएको हो ।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि गरिएको चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रत्यक्ष प्रयोग गरिएको आरोप लगाइएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ ।
नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने र प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उमेदवारी दर्ता समेत खारेज हुनसक्ने बताए ।