AarthikBikash
बुधबार, माघ १५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बारामा एकै परिवारका आमा–छोराको हत्या, बुवा र छोरी गम्भीर घाइते

बारामा एकै परिवारका आमा–छोराको हत्या, बुवा र छोरी गम्भीर घाइते

  • बुधबार, माघ १५, २०८२
बारामा एकै परिवारका आमा–छोराको हत्या, बुवा र छोरी गम्भीर घाइते

काठमाडौं– बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको अज्ञात व्यक्तिबाट हत्या भएको हो ।

आज बिहान करिब ३ बजेको समयमा अज्ञात समूह वा व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा–छोराको घटनास्थलमै मृत्यु भएको उनले बताए । घटनामा परिवारकै ५० वर्षीय जगरूप मण्डल र उनकी २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। हत्या कसले र किन गरेको भन्ने विषय हालसम्म खुल्न नसकेको डीएसपी पण्डितले जानकारी दिए । घटनास्थलको सूक्ष्म अध्ययनका साथै तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

सम्बन्धित समाचार