काठमाडौं – निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आयोगका अनुसार आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उल्लेख गरिएको छ।
स्वयंसेवकले मतदाताको बस्ती तथा घरघरमा पुगेर नमुना मतपत्रमार्फत निर्वाचनको महत्त्व र मतदान प्रक्रिया सम्बन्धी जानकारी दिनेछन्।
आयोगले विगतदेखि नै प्रत्येक स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्दै आएकोमा यसपटक पनि सोही सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता का रूपमा जिम्मेवारी दिइएको जनाएको छ ।