काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर-५ का उम्मेदवार बालेन्द्र साह (बालेन)ले काठमाडौँको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्।
काठमाडौंका पूर्व मेयर समेत रहेका बालेनले सोमबार बिहान झापा-५ का मतदातासँगको संवादमा काठमाडौंको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका हुन्।संवादका क्रममा मतदाताले अन्तर्राष्ट्रिय चलखेलसँग झुक्दिनँ भनेर नेपाली जनतासँग भन्न सक्नुहुन्छ रु भन्दै भन्दै प्रश्न सोधेका थिए। उक्त प्रश्नको जवाफमा बालेनले भने- ‘काठमाडौं महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न । महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’
सुकुम्बासी व्यस्थापन र फोहोर व्यवस्थापनमा आफूले त्यो अनुभूति गरेको बालेनको भनाइ थियो। बालेनले थप भने- ‘काठमाडौंका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्।’
बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि सोमबार बिहानै झापा पुगेर घरदैलो सुरु गरेका छन्। उक्त क्षेत्रमा धेरै जसो स्थानमा पुग्दा सुकुम्बासीहरुले बालेनसमक्ष आ–आफ्नो गुनासो राखिरहेका छन् । कतिपयले भने काठमाडौंको मेयर हुँदा बालेनले सुकुम्बासीमाथि डोजर चलाएको भन्दै आक्रोश समेत पोखिरहेका छन् । सोहि क्रममा एक मतदाताले बालेनसँग काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेको विषय उठाएका हुन्।