AarthikBikash
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • राजनीति
  • मधेसमा रास्वपालाई ठुलो झट्का, प्रदेशकी संस्थापक सभापति शर्माले त्यागिन पार्टी

मधेसमा रास्वपालाई ठुलो झट्का, प्रदेशकी संस्थापक सभापति शर्माले त्यागिन पार्टी

  • बुधबार, फाल्गुन ६, २०८२
मधेसमा रास्वपालाई ठुलो झट्का, प्रदेशकी संस्थापक सभापति शर्माले त्यागिन पार्टी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छिन् । संस्थापक सभापति शर्माले आज बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गरेकी हुन् ।उनले पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाएकी छिन् ।

‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आएको छ । यी सबै क्रियाकलापहरूको साक्षी बनेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ । उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् ।

२०७९ साल साउन १० गते रास्वपा प्रवेश गरेकी शर्माले आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पुर्याउँदै आएकी थिइन् ।   तर, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली पार्टीको मूल्यमान्यतासँग विपरीत रहेको उनले भनाई छ । यसअघि शर्माले उम्मेदवार चयन गर्ने क्रममा नेतृत्वले आफूमाथि अन्याय गरेको आरोप लगाएकी थिइन् ।

समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने क्रममा उनले तेस्रो स्थानको मत प्राप्त गरेकी थिइन् । काठमाडौंका पूर्व मेयर बालेन साह पक्षको एकतापछि उनलाई मधेसी महिलातर्फ सातौ स्थानमा राखिएको थियो । प्रारम्भिक मतदानबाट आएको मतअनुसार सूचीमा नराखिएपछि समानुपातिक तर्फबाट नाम फिर्ता लिएकी थिइन् ।

सम्बन्धित समाचार