काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । भोलिदेखि संसदको अधिवेशन सुरू हुँदैछ । च्यासलमा जारी बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ ।
दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको चर्चा छ । तर, सुहाङ नेम्वाङलगायतले पनि दलको नेतामा दाबी रहने बताएका छन् । पार्टीमा आन्तरिक र बाहिर पनि सुहाङलाई दलको नेताको रूपमा देख्न चाहेको समाचारहरू आइरहेको छ ।
एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सीट सहित २५ जना सांसद छन् । आजको बैठकमा महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने बताइएको छ । संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, लगायत पदाधिकारी पनि सहभागी छन्।