AarthikBikash
बुधबार, चैत्र १८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विश्व बजारमा इन्धनको हाहाकार, एकैपटक पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैँयाले बढेर आयो नयाँ सूची

विश्व बजारमा इन्धनको हाहाकार, एकैपटक पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैँयाले बढेर आयो नयाँ सूची

  • बुधबार, चैत्र १८, २०८२
विश्व बजारमा इन्धनको हाहाकार, एकैपटक पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैँयाले बढेर आयो नयाँ सूची

काठमाडौं– इजरायल, अमेरिका र इरानबीच युद्ध चर्किएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ । अमेरिका र इरानले आफूहरु युद्धको अन्तिम चरणमा रहेको बताईरहँदा पनि इन्धनको मूल्य भने झन आकाशिएको छ ।  ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७३ डलरबाट बढेर मार्च ३१ सम्म करिब १ सय १७ डलर पुगेको छ । ऊर्जाको थोक मूल्य बढेपछि यसको प्रत्यक्ष असर पेट्रोल पम्पहरूमा देखिन थालेको छ, जसको प्रभाव अहिले विश्वभर फैलिएको छ ।अमेरिकामा युद्ध सुरु भएयता पेट्रोलको औसत मूल्य करिब १ डलरले बढेको छ । अहिले त्यहाँ पेट्रोलको मूल्य करिब ४ डलर प्रति ग्यालन (३.७८ लिटर) नाघेको छ, जुन करिब चार वर्षयताकै उच्च स्तर हो ।

बेलायतमा पनि पेट्रोलको औसत मूल्य १४ प्रतिशतले बढेको छ भने डिजेलको मूल्य २७ प्रतिशतले उकालो लागेको छ । श्रीलंका र बंगलादेशजस्ता देशहरूले इन्धनको अभावका कारण राशनिङ प्रणाली (सीमित वस्तु जस्तै खाद्यान्न, पेट्रोल आदिलाई निश्चित मात्रामा बाँड्ने व्यवस्था) लागू गर्न थालेका छन् ।  गत साता स्लोभेनिया यस्तो कदम चाल्ने पहिलो युरोपेली संघ सदस्य राष्ट्र बनेको छ ।

अष्ट्रेलियाले बढ्दो मूल्य नियन्त्रण गर्न तीन महिनाका लागि इन्धनमा लाग्ने कर आधा गरेको छ । साथै, त्यहाँका दुई राज्यमा निजी सवारी प्रयोग नगर्न प्रोत्साहनस्वरूप अस्थायी रूपमा निःशुल्क सार्वजनिक यातायात सेवा उपलब्ध गराइएको छ । भारतमा पनि पेट्रोल ,डिजल तथा एलपी ग्यासको अभाव देखिन थालेको छ । भारत सरकारले अभावको हल्ला मात्रै फैलिएको बताए पनि डिजल र पेट्रोल को लागी १–२ घन्टा लाइन बस्नु नै परिरहेको छ ।

यता, नेपालमा पनि १० दिनमै इन्धनमा भारी मूल्यबृद्धि भएको छ । चैत १ गते इन्धनको मूल्यबृद्धि गरेको नेपाल आयल निगमले त्यसको १० दिनमै पुनः मूल्यबृद्धि गरेको थियो ।  १ चैतमा पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १०–१० रुपैयाँ वृद्धि गरेको निगमले चैत ११ गते पुनः पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको थियो ।

त्यसको एक सातामै आज पुनः भारतबाट मूल्यबृद्धि भएर आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको मूल्यमा अत्यधिक वृद्धि गरेको हो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वभाविक उछालका कारण यसपटक नेपालका लागि पठाइएको खरिद दरमा निकै ठूलो अन्तर देखिएको हो। नयाँ दर रेट अनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।  भारतीय पक्षबाट आएको यो वृद्धि अहिलेसम्मकै उच्च मध्येको एक हो ।

यद्यपी आयल निगमले यो पटक भने पुरानो मुल्य नै कायम गरेको जनाएको छ । भारतबाट यति ठूलो मात्रामा मूल्य बढेर प्राप्त भए तापनि नेपाल आयल निगमले भने तत्कालका लागि नेपाली बजारमा मूल्य नबढाउने  निर्णय गरेको छ। निगमले मूल्य स्थिरीकरण कोष र आफ्नो सञ्चित नाफाको प्रयोग गरेर भए पनि उपभोक्तालाई थप भार नदिने नीति लिएको हो। मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो ।

निगमले हिजो साझँ नै विज्ञप्ति जारी गर्दै अर्को मूल्य समायोजन नहुँदासम्मका लागि पेट्रोल, डिजेल तथा मट्टितेल र एलपी ग्यासको साविक खुद्रा मूल्यलाई नै यथावत राखेको जनाएको थियो ।  यद्यपी हवाई इन्धनमा भने भारी मूल्यबृद्धि भएको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्य १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा आजबाट २५१ रुपैयाँ पुगेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पनि झण्डै दोब्बर बढेको छ ।

निगमले इण्डियन आयल कार्पोरेसनबाट हालसम्म माग बमोजिम परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेता पनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभाविन हुने देखिएको पनि जनाएको छ ।  निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य बृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजना हुन नसक्दा पाक्षिक रुपमा निगमलाई रु। १३ अर्ब २१ करोड घाटा हुने देखिन्छ ।

सम्बन्धित समाचार