काठमाडौं – सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहसम्म विस्तार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधिक गर्ने र जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोगबिच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन, दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिने समेत बताए ।
यसैगरी सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थप गर्नका लागि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुसँग कूटनीतिक पहल गर्ने भएको छ।
‘गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
यस्तै सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ,’ उनले भने ।