काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सचिवालयमा कार्यरत चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका छन् ।
महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकको रूपमा कार्यरत रहेको खुलेको छ ।
पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका केही व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप लगाइएको छ ।
घटनापछि प्रहरीले आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरी ले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र पारिएको बताएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी जारी छ ।
प्रहरीले पक्राउ परेका आलमलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।