काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो भनेका हुन् ।
उनले भने- ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्यौँ।’
उनले संसद् भवनका हरेक भित्ता बलिदानले रंगिएको बताए।
संयोजक प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य पनि गलत भएको बताएका छन् ।
उनले थप भने- ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो । पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेगरी अग्रसर हुन्छ । मानौ पुराना जति सबै राम्रा वा नराम्रा भन्ने बहसले समाजलाई विभाजित गर्छ । त्यसकारण म सबै माननीयज्यूहरुलाई नयाँ र पुरानाको भाष्य बदलेर सही वा गलतको भाष्यमा रुपान्तरण गर्न हार्दिक अनुरोध गर्दछु ।’
उनले राजनीतिमा मुख्य सवाल उमेर वा पुरानोपन नभई सही र गलत भएको बताए ।