काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम केन्द्रित प्रदेशस्तरीय भेला जारी छ ।
आइतबार कैलालीको धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको प्रदेशस्तरीय भेला केहीबेरअघि देखि सुरु भएको हो ।
कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको छ । भेलास्थलमा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ उल्लेख गरिएको ब्यानर राखिएको छ ।
कार्यक्रममा रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत तथा केदार कार्की लगायत काँग्रेसका नेताहरूको उपस्थिति रहेको छ । भेलामा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा पनि सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिएको थियो ।
कांग्रेसले यसअघि वैशाख २६ गते सुदूरपश्चिमको धनगढीबाट भेला गरेको थियो ।
त्यसपछि वैशाख २८ र २९ गते कर्णालीको सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकीको पोखरामा भेला आयोजना गरेको थियो ।
यसैगरी मधेस प्रदेशमा जेठ ६ र ७ गते कोसी प्रदेशमा जेठ ८ र ९ गते, जेठ १४ र १५ गते लुम्बिनी र जेठ ४ गते बागमती प्रदेशमा भेला आयोजना गरेको थियो ।
यता पूर्व सभापति देउवा पक्षले पनिनिर्वाचन समीक्षा, पार्टीको आगामी रणनीतिलगायत विषयमा समानान्तर भेला जारी राखेका हुन् ।
यसअघि कोसी, बागमती र कर्णालीमा इतरपक्षले भेला आयोजना गरिसकेको छ ।
उक्त भेलामा कांग्रेस नेताहरूले दुबै पक्षलाई समेटेर कांग्रेस एकतामा ध्यान दिन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुरखड्कालाई सुझाएका थिए ।