काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीबार विशेष अदालत, काठमाडौंले पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको थियो।
त्यसपछि अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपेको हो।
यसअघि विशेष अदालतले सुरुमा ७ दिन र त्यसपछि सोमबार थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
हाल सम्पत्ति शुद्धीकरण विभागले पौडेलविरुद्ध पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यता सर्वोच्च अदालतमा बिहिबारै बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई भैरहेको छ।
पौडेलकी पत्नी दोमायाले आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै १० असारमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।
यसअघि न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले पौडेल जोडिएका दीपक भट्ट, सुलभ अग्रवाल सम्बन्धित मिसिलहरु मगाउने आदेश गरेको थियो।