AarthikBikash
सोमवार, असार २२, २०८३
  • होमपेज
  • राजनीति
  • आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो, कर्णालीमा डुबेका जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही

आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो, कर्णालीमा डुबेका जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही

  • सोमवार, असार २२, २०८३
आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो, कर्णालीमा डुबेका जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही

काठमाडौं– राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै भीरमा अड्किएर डाँको लगाउँदा समेत यात्रुको उद्धार नभएको बताए। उनले भने, ‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उनीहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, आशा सक्कियो तर उद्धार आएन । त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो ।’

उनले उद्धारको लागि हेलिकप्टर नपठाएर सरकारका मन्त्री कर्णालीको आकाशमा घुमिरहेको बताए । उनले थपे, ‘यता प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए । उद्धार टोलीसँग साधन थिएन । हेलिकप्टर आकाशमा घुम्दै गर्दा, एउटा हेलिकप्टर पठाउने क्षमता यो सरकारसँग भएन ।’

उनले कर्णाली नेपालमा हो कि होइन ? भन्दै प्रश्न सोधे। उनले थपे, ‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा, कर्णालीमा नागरिक डुब्दै गर्दाखेरि उद्धार गर्न नहुने? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन्? यसको जवाफ आज दिनुपर्छ । यो संसद्मा रुलिङ गर्नुपर्छ । कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ कि छैन ? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् कि होइनन् ? कि हामी कर्णालीमा जन्मिनु नै हाम्रो अभिशाप हो ?’

सम्बन्धित समाचार