AarthikBikash
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

  • शुक्रबार, साउन ८, २०८३
गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

काठमाडौं– गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ । गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो ।

त्यसपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो । सांसद गुप्तालाई जरिवाना गरिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्त कार्यान्वयन भएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने कतिपयले ५ सय रुपैयाँको जरिवाना पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका थिए । ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले लेखेका छन् । गुप्ताले थपेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’

यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिबाना तिराएको थियो । यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।

सम्बन्धित समाचार