एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई पूर्ण रूपमा अस्वीकार गर्दै देशसँग पर्याप्त सैन्य भण्डार रहेको दाबी गरेका छन् ।
बिहीबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिकासँग विशेष प्रकारका अत्याधुनिक हतियारसहित पर्याप्त मात्रामा गोला–बारुद रहेको उल्लेख गरेका हुन्। उनले भण्डारणको वास्तविक परिमाण खुलाएनन्, तर रक्षा उत्पादन तीव्र गतिमा बढिरहेको दाबी गरे।
ट्रम्पले लेखेका छन्,’हामी ठूलो मात्रामा गोला–बारुद उत्पादन गरिरहेका छौं। आवश्यक पर्दा तत्काल उपलब्ध गराइनेछ। अमेरिकी इतिहासमै सबैभन्दा धेरै नयाँ रक्षा कारखाना र उत्पादन केन्द्रहरू निर्माण भइरहेका छन्।’
यसअघि वासिङ्टन पोस्टले गत शुक्रबार क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले रक्षा मन्त्री पिट हेगसेथसँग गोला–बारुदको कथित अभावबारे स्पष्टीकरण मागेको दाबी गरेको थियो। समाचारअनुसार ट्रम्पले उक्त समस्या पहिले नै समाधान भइसकेको ठानेको बताएका थिए।
यी समाचारप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले “देशद्रोही सूचना चुहाउनेहरू”को पहिचान भइसकेको दाबी गरे। उनले ती व्यक्तिहरूले “लामो जेल सजाय भोग्ने” चेतावनीसमेत दिएका छन्।
उता, सीएनएनले प्रकाशित गरेको अर्को रिपोर्टमा लामो दूरीका निर्देशित मिसाइल तथा हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलको अभावले इरानसम्बन्धी ट्रम्प प्रशासनको रणनीतिमा प्रभाव पारेको उल्लेख गरिएको छ।