एजेन्सी – भारतीय राज्य पश्चिम बंगालका पूर्वमन्त्री तथा विधानसभाका पूर्वउपाध्यक्ष आशिष बनर्जी आज बिहान पार्टी कार्यालयमै मृत भेटिएका छन्।
तृणमूल कांग्रेसका नेता बनर्जी पूर्वमुख्यमन्त्री ममता बनर्जीनिकट मानिन्थे। बीबीसी हिन्दीका अनुसार उनको निवासनजिकै रहेको पार्टी कार्यालयमा उनको शव फेला परेको हो।
उनी पश्चिम बंगालको वीरभूम जिल्लास्थित रामपुरहाट निर्वाचन क्षेत्रबाट पाँच कार्यकाल विधायक बनेका थिए। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार उनको शव कोठाभित्र फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोटसमेत फेला परेको छ। यद्यपि अधिकारीहरूले त्यसबारे थप विवरण सार्वजनिक गरेका छैनन्। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
सन् २००१ देखि रामपुरहाटबाट लगातार निर्वाचन जित्दै आएका बनर्जी यस वर्ष भने भाजपा उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए।
बनर्जीले ममता बनर्जी नेतृत्वको सरकारमा स्कुल शिक्षा र कृषि मन्त्रीका रूपमा काम गरेका थिए। सन् २०२१ मा उनी विधानसभाको उपाध्यक्षसमेत बनेका थिए।
बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेका बनर्जीले रामपुरहाट कलेजमा शिक्षकका रूपमा आफ्नो करियर सुरु गरेका थिए। पछि राजनीतिमा प्रवेश गरेका उनी ममता बनर्जीका निकट नेताका रूपमा चिनिन्थे ।