काठमाडौं – पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी तथा कारबाही गरेको थियो ।
सो क्रममा सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्नसक्ने खालका ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा १३ पुरुष र २२ महिलाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
छानबिनपश्चात् संलग्नता देखिएका निज ३५ केही रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा काम गर्ने, लडाइँ–झगडा गर्ने तथा अन्य अनैतिक क्रियाकलापमार्फत सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको पाइएको छ ।
प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।