काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो।
टोलीले अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिएको थियो ।
एन्फामाथि आर्थिक अनियमितता, खरिद प्रक्रिया तथा विभिन्न गतिविधिमा अनियमितता भएको आरोपमा उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाइरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का छानबिन प्रतिवेदनसमेत अनुसन्धानको पृष्ठभूमिमा रहेका छन्।
यसअघि राखेप र एन्फाबीचको विवादकै कारण फिफाले एन्फालाई निलम्बन गरेको थियो ।