AarthikBikash
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • राजनीति
  • अति भारी वर्षाको पूर्वानुमानपछि सतर्क रहन प्रधानमन्त्रीको आग्रह

अति भारी वर्षाको पूर्वानुमानपछि सतर्क रहन प्रधानमन्त्रीको आग्रह

  • बुधबार, अशोज ७, २०८३
अति भारी वर्षाको पूर्वानुमानपछि सतर्क रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेनले सो आग्रह गरेका हुन् ।

मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

सम्भावित वर्षाका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङसहित हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेको जनाइएको छ।

त्यसैले प्रधानमन्त्री शाहले पानी परिरहेको तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी र खोलानजिकका बस्तीमा विशेष सतर्कता अपनाउन उनले अनुरोध गरेका छन्।

यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकाहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।

सम्भावित विपद्बाट जोगिन मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।

उनले विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।

सम्बन्धित समाचार