AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • समाज
  • म्याग्दीमा पहिरो : ३ जनाको मृत्यु, २ जनाको सकुशल उद्धार

म्याग्दीमा पहिरो : ३ जनाको मृत्यु, २ जनाको सकुशल उद्धार

  • आइतवार, अशोज ११, २०८३
म्याग्दीमा पहिरो : ३ जनाको मृत्यु, २ जनाको सकुशल उद्धार

म्याग्दी – निरन्तरको वर्षापछि म्याग्दीमा पहिरोले जनधनमा क्षति पुर्‍याएको छ ।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आज गएको पहिरोमा पुरिएका ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव भेटिएको हो ।

यस्तै, बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर करिब ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने नेपाली सेनाको हेलिकप्टरमार्फत गएको सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । उनीहरूलाई हेलिकप्टरमार्फत बेनी ल्याउने तयारी गरिएको छ ।

यस्तै, मालिका गाउँपालिका–३ औँलामा पहिरोमा पुरिएका व्यक्तिको समेत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

पहिरोका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिकाका प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्रीसहित सुरक्षाकर्मीको टोली पठाउने तयारी गरिएको छ ।

अन्नपूर्ण–३ दानाका ज्ञानप्रकाश माध्यमिक विद्यालयका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा गंगाबहादुर पाइजाको घरसमेत पहिरोले पुरिएको छ ।

बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण म्याग्दीका विभिन्न क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा पनि प्रभावित हुँदा उद्धार तथा विपद् व्यवस्थापनमा थप कठिनाइ भएको प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार