काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति असन्तुष्टि जनाएका हुन् ।
सरकारको नियत ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो भए त्यो सरकारकै लागि घातक हुने उनको भनाइ थियो ।
यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउँदै उनले भने, ‘सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
जबरालाई नियन्त्रणमा लिन प्रहरीले दिएको ‘सुरक्षा थ्रेट’को कारण पनि प्रचण्डले अस्वीकार गरेका छन् । उनले सुरक्षा जोखिम वास्तविक थियो भने पक्राउ गर्नुको सट्टा निवासमै सुरक्षाकर्मी थप गर्नुपर्ने बताए ।
‘सुरक्षा थ्रेट’ सामान्य मानिसले समेत बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको टिप्पणी थियो ।