AarthikBikash
बुधबार, अशोज १४, २०८३
  • होमपेज
  • समाज
  • हिमपहिरोमा हराएका थप तीन आरोहीको शव भेटियो, ५ जना अझै सम्पर्कविहीन

हिमपहिरोमा हराएका थप तीन आरोहीको शव भेटियो, ५ जना अझै सम्पर्कविहीन

  • बुधबार, अशोज १४, २०८३
हिमपहिरोमा हराएका थप तीन आरोहीको शव भेटियो, ५ जना अझै सम्पर्कविहीन

मनाङ – मनाङको नार्फाभूमिमा गएको भीषण हिमपहिरोमा हराएका आरोहीमध्ये थप तीन जनाको शव फेला परेको छ।

हिमपहिरोमा परी हराएका आरोही तथा सहयोगीको खोजीका क्रममा बुधबार तीन जनाको शव फेला परेको हो।

नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघका अनुसार बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला छ ।

गत असोज ११ गते बिहान नार्फाभूमि गाउँपालिका–५ मा समुद्री सतहबाट करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो।

हिमपहिरो जाँदा २३ जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका थिए। जस मध्ये ९ जना आरोही र १३ जना सहयोगी स्टाफ थिए ।हिमपहिरोमा परेकामध्ये ११ जना भने घटनाको दोस्रो दिन सम्पर्कमा आएका थिए।

यसअघि खोजीका क्रममा चार जनाको शव फेला परेको थियो। आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

थप तीन जनाको शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुगेको छ।

अझै ५ जना जना आरोही तथा सहयोगी सम्पर्कविहीन रहेको संघले जनाएको छ।

हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।

सम्बन्धित समाचार