AarthikBikash
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसमा पदाधिकारीको ‘टिम’ बढाउने तयारी, उपसभापति-महामन्त्री थपिँदै

कांग्रेसमा पदाधिकारीको ‘टिम’ बढाउने तयारी, उपसभापति-महामन्त्री थपिँदै

  • शनिबार, अशोज १७, २०८३
कांग्रेसमा पदाधिकारीको ‘टिम’ बढाउने तयारी, उपसभापति-महामन्त्री थपिँदै

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ।

हाल १४ जना पदाधिकारी रहेको कांग्रेसमा विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै थप तीन पदाधिकारीको व्यवस्था गरिएको थियो। अब फेरि उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप्ने विषयमा छलफल भइरहेको छ।

कांग्रेसको विधान संशोधन समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार पदाधिकारी संख्या बढाउन पार्टीका विभिन्न तहबाट समितिमा सुझाव आएका छन्।

‘यो पटक ३५ वर्षमुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने सुझाव आएको छ,’ पौडेलले भने, ‘अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाब छ। खुला सहमहामन्त्री हुनुपर्ने माग पनि छ।’

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको विधान संशोधन समिति र पार्टी पदाधिकारीबीच शनिबार छलफल हुँदैछ। उक्त छलफलपछि विधान संशोधनको प्रस्ताव तयार पारिनेछ।

त्यसपछि प्रस्ताव केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरी महाधिवेशनमा पेस गरिनेछ। महाधिवेशनबाट अनुमोदन भएपछि मात्रै संशोधित व्यवस्था कार्यान्वयनमा जानेछ।

तर, पदाधिकारी थपसम्बन्धी प्रस्ताव यही महाधिवेशनबाट लागू हुन्छ वा आगामी महाधिवेशनबाट भन्ने विषय भने अझै टुंगिएको छैन। विधान संशोधनका अधिकांश विषय आगामी महाधिवेशनबाट कार्यान्वयन गर्ने तयारी भए पनि पदाधिकारी थपको व्यवस्था भने यही महाधिवेशनबाट लागू गर्ने सम्भावना बढी रहेको पौडेलले बताए।

उपसभापति, महामन्त्री र सहमहामन्त्री थपिँदै

कांग्रेसको हालको विधानअनुसार सभापति एक, उपसभापति दुई र महामन्त्री दुई जना निर्वाचित हुने व्यवस्था छ। आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुन्छन्।

त्यस्तै, केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी सभापतिले तीन सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ।

अब दुई उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री थप्ने विषयमा छलफल भइरहेको छ। प्रस्ताव पारित भए कांग्रेसको शीर्ष नेतृत्व संरचना थप विस्तार हुनेछ।

महाधिवेशनको बन्दसत्र र उम्मेदवारी दर्ताको कार्यक्रम असोज १९ गते नै रहेकाले विधान संशोधनको प्रस्ताव कहिले अनुमोदन हुन्छ र नयाँ व्यवस्था यही महाधिवेशनमा लागू हुन्छ कि हुँदैन भन्ने विषय कांग्रेसभित्र चासोको विषय बनेको छ।

सम्बन्धित समाचार