काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा आगामी चार वर्षको राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
खुलामञ्चमा जारी बन्दसत्रमा थापाले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सरकारलाई खबरदारी गर्ने, निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टीको संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्ताव अघि सारेका छन्।
प्रतिवेदनमा निजी क्षेत्रसँगको सहकार्य विस्तार गर्ने, पार्टीमा युवाको सहभागिता सुनिश्चित गर्ने तथा ८८‘समुन्नत नेपाल, सम्मानित नेपाली’८८को अवधारणालाई अघि बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
थापाले विगतमा गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले कांग्रेसको नैतिक आधार कमजोर बनाएको उल्लेख गरेका छन्।
त्यस्तै, भ्रष्टाचार तथा अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा औँल्याइएको छ।
प्रतिवेदनले कांग्रेसलाई विगतका कमजोरी सच्याउँदै थप जवाफदेही, व्यवस्थित र जनमुखी पार्टीका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ।