काठमाडौं – जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाले छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो। सोही आरोपमा प्रहरीले अनुसन्धान अघि बढाउँदै मुद्दा दर्ता गरेको थियो ।