काठमाडौं – यसपालिको दसैं तथा चाडपर्वमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक धाउनुपर्ने बाध्यता कम हुने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले नयाँ नोट वितरणबारे धेरै प्रचार नगरी चाडपर्वका लागि सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको बताए।
उनका अनुसार नोट साट्ने काम नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले यसका लागि छुट्टै सूचना जारी गर्न आवश्यक ठानिएको छैन।
‘पैसा साट्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,’ उनले भने।
राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित राष्ट्र बैंक कार्यालय, राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि दसैं–तिहारजस्ता चाडपर्वमा ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउने चलन क्रमशः घटाउँदै आएको छ। नयाँ नोटको सट्टा सुकिला तथा सफा नोट प्रयोग गर्न प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ।
प्रवक्ता पौडेलका अनुसार भदौ ३१ गतेसम्म बजारमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैंका बेला यो रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने राष्ट्र बैंकको अनुमान छ।
यसअनुसार दसैंका बेला बजारमा थप करिब ६३ अर्ब ५२ करोडदेखि ७९ अर्ब ४० करोड रुपैयाँसम्म मुद्रा चलनचल्तीमा आउन सक्नेछ।
नयाँ नोटभन्दा सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले चाडपर्वमा नोट सटही तथा वितरणको व्यवस्था पनि सोहीअनुसार अघि बढाएको जनाएको छ।