AarthikBikash
शनिबार, कार्तिक १५, २०८३
  • होमपेज
  • समाज
  • स्वास्थ्य चौकी उद्घाटनमा विवाद हुँदा प्रहरीको गोली लागेर युवक घाइते

स्वास्थ्य चौकी उद्घाटनमा विवाद हुँदा प्रहरीको गोली लागेर युवक घाइते

  • शनिबार, कार्तिक १५, २०८३
स्वास्थ्य चौकी उद्घाटनमा विवाद हुँदा प्रहरीको गोली लागेर युवक घाइते

वीरगन्ज – बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीसहितको टोलीले गाउँमा स्वास्थ्य चौकी उद्घाटन गर्न खोजेपछि विपक्षी समूहले रोक लगाएको थियो ।

फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी उद्घाटन गर्ने क्रममा विवाद भएको थियो ।

त्यसपछि सुरु भएको विवादले उग्र रूप लिएपछि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकैदुई समूहबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।

मधेस प्रदेश प्रहरीका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले जवाफी कारबाहीस्वरूप हवाई फायर गरेको थियो ।

तर, प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरा अजित पासवानको पेटमा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाका क्रममा प्रहरीले गरेको लाठी प्रहारबाट अन्य केही व्यक्ति पनि घाइते भएका छन्।

गोली लागेर घाइते भएका युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेस प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

गोली लागेर बालक गम्भीर घाइते भएपछि स्थानीय थप आक्रोशित बनेका छन्। दोषी प्रहरीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन्।

घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षाका लागि पर्सा जिल्लाबाट समेत प्रहरी टोली परिचालन गरिएको छ।

सम्बन्धित समाचार