काठमाडौं – दसैँ–तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।
शुक्रबार भद्रकालीस्थित परिसर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले चाडपर्वका बेला हुन सक्ने चोरी, ठगी, लुटपाट तथा सार्वजनिक स्थानमा हुने दुर्व्यवहार नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।
उनका अनुसार बर्दी र सादा पोशाकमा प्रहरी परिचालन गरिनेछ। सुरक्षा जोखिम बढेमा प्रहरीको संख्या थप गरिने उनले बताए।
‘चाडपर्व अवधिभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएका छौँ,’ थापाले भने।
प्रहरीले दसैँ–तिहारका बेला चोरी, ठगी, लुटपाट तथा सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
‘चोकमा झोला तानेर दुर्व्यवहार हुन सक्छ, त्यसलाई पनि हामीले चुनौतीका रूपमा लिएका छौँ,’ थापाले भने।
चाडपर्वको सुरक्षाका लागि प्रहरीले २२ प्रकारका विशेष ड्युटी सञ्चालन गर्ने भएको छ।
काठमाडौं प्रवेश गर्ने नाकाहरूमा कुकुर परिचालन गरी चेकजाँच गरिनेछ भने सम्भावित आपराधिक गतिविधिमाथि निगरानी बढाउन सीसीटीभीमार्फत सुरक्षा निगरानी समेत कडा पारिने प्रहरीले जनाएको छ।