AarthikBikash
शनिबार, कार्तिक १५, २०८३
  • होमपेज
  • समाज
  • बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक बेपत्ता, खोजीका लागि प्रहरी परिचालन गरिँदै

बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक बेपत्ता, खोजीका लागि प्रहरी परिचालन गरिँदै

  • शनिबार, कार्तिक १५, २०८३
बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक बेपत्ता, खोजीका लागि प्रहरी परिचालन गरिँदै

बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् ।

बडीमालिका भगवतीको दर्शन गरेर फर्किने क्रममा वर्षा र हिमपातमा परेका उनीहरू शुक्रबारदेखि सम्पर्कबाहिर रहेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन् ।

प्रहरीका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । तीमध्ये तीन जना बडीमालिका पुगेर फर्किसकेका छन् ।

चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्किने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन भएका थिए । त्यसपछि गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिमपातपछि मनिष हराएका हुन सक्छन् भने भारी हिउँ परेका कारण तल झर्न नसक्दा सागर पनि बाटोमै अलपत्र परेको हुन सक्ने आशङ्का गरिएको छ । दुवै जनाको मोबाइल फोन बन्द रहेको सङ्केत प्राप्त भइरहेको छ ।

शुक्रबारदेखि जिल्लामा लगातार वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेकाले खोज तथा उद्धारमा कठिनाइ भएको छ ।

उनीहरूको खोजीका लागि सदरमुकाम मार्तडीबाट प्रहरी टोली परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार