रौतहट – रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकीनजिक गएराति भएको घटनामा २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।
प्रहरीका अनुसार राति सवा ९ बजे आफ्नै टोलमा रहेका यादवमाथि गोली प्रहार भएको थियो। पेस्तोलबाट चलाइएको गोलीका छर्रा लागेर उनको ढाड, दाहिने पाखुरा तथा दुवै खुट्टामा चोट लागेको छ।
यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी शरीरका विभिन्न भागमा ६ वटा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गोली प्रहारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको छ।