काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी तथा द्विपक्षीय एजेन्डा तय गर्न आज काठमाडौं आउँदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनी आज र भोलि नेपालमा रहनेछन् ।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्नुका साथै आपसी हित र साझा चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न विषयमा विचार आदानप्रदान गरिने उल्लेख छ ।
यसैगरी, भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका दृष्टिले मिश्रीको यस भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । उनी कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।