काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच पार्टी एकता भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट एकता घोषणा गरिएको हो।
दुवै पार्टीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै बुधबार पार्टी एकताको प्रक्रिया अघि बढाउने सहमति गरेका हुन् ।
मंगलबार भएको सहमतिअनुसार पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न पाँच कुने तारा हुनेछ । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने सहमतिमा उल्लेख छ ।
त्यस्तै, पार्टीको तात्कालिक कार्यनीतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ ।
सहमति पत्रमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख गर्दै परिस्थिति अनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने जनाइएको छ । सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा लिइनेछ ।
आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन गर्नेलगायतको विषय समेटिएको छ।
सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।
माधवकुमार नेपालले यता पार्टी एकतामा हस्ताक्षर गर्दै गर्दा विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।
सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको प्रकरणमा आयोगले नेपालसहित ९७ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
