AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • राजनीति
  • नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौंमा

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौंमा

  • मङ्लबार, कार्तिक १८, २०८३
नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौंमा

काठमाडौं – नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। राजदूतको जिम्मेवारी सम्हाल्न दलेला मंगलबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।

उनलाई नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

भारतीय विदेश मन्त्रालयले असोज ३० गते दलेला नेपालका लागि राजदूतमा नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको थियो ।

दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवतः पहिलोपटक हो । भारतको विदेश मन्त्रालयमा विदेश सचिवका अतिरिक्त अन्य चार जना सचिव छन् ।

नेपालमा राजदूतको कार्यकाल पूरा गरेर फर्केपछि श्याम शरण र विनयमोहन क्वात्रा भारतको विदेश सचिव बनेका थिए ।

२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए ।

सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका दलेलाको आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डी।सी।स्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गरेका छन् ।

सन् २००९ देखि २०११ सम्म उनले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए ।

उनको मुख्य जिम्मेवारी भारतका दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको भारतको सम्बन्धमा केन्द्रित थियो।

उनले सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयमा नर्थ डिभिजनको को रुपमा काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनकै सहसचिवको रुपमा काम गरेका थिए । त्यसबेला उनले भुटान र नेपालसँग भारतको सम्बन्धकोबारेमा नजिकबाट काम गरेका थिए ।

दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् ।

विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन् । दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ ।

वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बसेका थिए ।

सम्बन्धित समाचार