काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले आज सूचना जारी गर्दै जसपाबाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहित १८ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।पद रिक्त हुनेमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्तर महतो, खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ पनि छन् ।
त्यस्तै, विभिन्न जिल्लाका स्थानीय तहमा निर्वाचित ९ जना वडाध्यक्षसहित अन्य जनप्रतिनिधिको पदसमेत रिक्त भएको आयोगले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरू दलबाट निष्कासित भएपछि पदमुक्त भएका हुन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गरेको भन्दै जसपाले उनीहरूविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
पदमुक्त भएका अधिकांश जनप्रतिनिधिले निर्वाचनका क्रममा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई विजयी गराउन भूमिका खेलेको जसपाको आरोप थियो ।
पार्टीको उजुरी र कानुनी प्रक्रियापछि आयोगले उनीहरूको पद रिक्त भएको सूचना जारी गरेको हो ।