AarthikBikash
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं उपत्यका

विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं उपत्यका

  • बिहिबार, मंसिर ४, २०८३
विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं उपत्यका

काठमाडौं – काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । वायु प्रदूषणको मात्रा बढ्दै जाँदा राजधानीको हावा स्वास्थ्यका लागि अस्वस्थकर तहमा पुगेको हो ।

वायु गुणस्तर अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार काठमाडौं १८१ यूएस एक्यूआईसहित विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । यो स्तरलाई अस्वस्थकर मानिन्छ ।

आईक्यूएयरको सूचीमा पाकिस्तानको लाहोर सबैभन्दा प्रदूषित सहरका रूपमा पहिलो स्थानमा छ । लाहोरको वायु गुणस्तर सूचकांक ३२७ पुगेको छ । त्यस्तै, २६१ एक्यूआईसहित बंगलादेशको ढाका दोस्रो स्थानमा छ ।

सूचीको चौथो स्थानमा भारतको दिल्ली १७७ एक्यूआईसहित रहेको छ भने पाकिस्तानको कराँची १६७ एक्यूआईसहित पाँचौँ स्थानमा छ । इजिप्टको कायरो १७० एक्यूआईसहित छैटौँ स्थानमा रहेको छ ।

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेसँगै सर्वसाधारणको स्वास्थ्य जोखिमसमेत बढेको छ । प्रदूषित हावाको प्रत्यक्ष असर विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा बढी पर्न सक्छ ।

वायु प्रदूषणको यस्तो अवस्थामा अनावश्यक रूपमा बाहिर ननिस्कने, बाहिर निस्कनुपरे मास्क प्रयोग गर्ने र प्रदूषणको उच्च जोखिममा रहेका व्यक्तिले विशेष सावधानी अपनाउन आवश्यक छ ।

सम्बन्धित समाचार