काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा अनलाइन सट्टेबाजी गरेको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक छन्।
नेपाल प्रहरीका अनुसार दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी जम्मा १८ थान विद्युतीय उपकरण बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ।