काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीलाई एकपक्षीय रूपमा पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको हो।
यससँगै लगातार तीन सिजन फाइनल खेलेको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्ने सपना पूरा गरेको छ।
यसअघि पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो।
तेस्रो संस्करणमा पनि सुदूरपश्चिमले लिग चरणमा लुम्बिनीसँग हार बेहोरेको थियो। तर, निर्णायक फाइनलमा त्यही लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले पुरानो हारको बदला लिएको छ।
सुदूरपश्चिमको उपाधिसँगै एनपीएलका तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन्। पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए।
यता, लगातार दोस्रो पटक उपाधि जितेर एनपीएलमा नयाँ इतिहास रच्ने लुम्बिनीको सपना भने अधुरै बनेको छ।