AarthikBikash
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • राजनीति
  • बालेन र मोदीले गरे जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

बालेन र मोदीले गरे जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

  • सोमवार, मंसिर ८, २०८३
बालेन र मोदीले गरे जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या जोड्ने रेल सेवाको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन्।

उद्घाटनलगत्तै अयोध्याबाट जनकपुरका लागि रेल प्रस्थान गर्ने कार्यक्रम छ। अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुर जाने रेललाई बिदाइ गर्नेछन्।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन्। नयाँ रेल सेवाले दुवै देशबीच धार्मिक पर्यटन र सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

भारतीय रेल विभागले यसअघि नै नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको थियो।

भारतीय रेल मन्त्रालयका अनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एकपटक दुईतर्फी सञ्चालन हुनेछ।

रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट रेल नम्बर १५५९६० छुटेर जनकपुरधाम फर्कनेछ।

६०४ किलोमिटर लामो यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ।

नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुर र अयोध्यालाई रेलमार्गबाट जोड्ने सेवा उद्घाटन गरिएको हो।

सम्बन्धित समाचार