काठमाडौं – मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको करिब १ अर्ब ६९ करोड रुपैयाँको गैरकानुनी असुली प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ पुर्जी जारी भएका अर्याललाई भारतको कलकत्ताबाट नियन्त्रणमा लिएर नेपाल ल्याउँदै गरेको स्रोतले जनाएको छ ।
मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंले अर्यालविरुद्ध पक्राउ अनुमति दिएको थियो ।
मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका अर्यालमाथि सोही अवधिमा भएको भनिएको विवादास्पद निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ । उनी २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए भने २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल्ने प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ । करिब सात लाख नेपाली श्रमिक प्रभावित भएको भनिएको यस प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म तानिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
यसअघि तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरूमाथि ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।