AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा

  • शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

प्रचण्डले भने, ‘‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु। डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’’

‘‘केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ’’ प्रधानमन्त्रीले थपे, ‘‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बाेधन गरिनेछ।’’

‘‘नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गाैला प्रत्यारोपण गर्दै आइएका छन्।’’

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ। मिर्गाैला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ। यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु।’’

Facebook Comments

सम्बन्धित समाचार