AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाज
  • आजदेखि सोह्र श्राद्ध सुरु, यस्तो छ धार्मिक विश्वास

आजदेखि सोह्र श्राद्ध सुरु, यस्तो छ धार्मिक विश्वास

  • बुधबार, अशोज २, २०८१
आजदेखि सोह्र श्राद्ध सुरु, यस्तो छ धार्मिक विश्वास

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएकोबताइएको छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामाबाहेक सोह्र श्राद्ध छोड्नु नहुने विश्वास छ ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार