AarthikBikash
सोमवार, फाल्गुन २६, २०८१
  • होमपेज
  • खेलकुद
  • न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

  • सोमवार, फाल्गुन २६, २०८१
न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ। न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले सन् २०१३ पछि च्याम्पियन्स ट्रफी जितेको हो।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो। २५२ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतले ४९औं ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो।

ब्याटिङतर्फ मध्यम सुरुआत गरेको न्युजिल्यान्डका लागि रचिन रवीन्द्र र विल योङले ५७ रनको ओपनिङ साझेदारी गरे। वरुण चक्रवर्तीले यो साझेदारी तोडे। विल योङ १५ रनमा एलबीडब्ल्यू भए। रचिनले भने जीवनदान पाएका थि । रचिन ३० रनमा खेलिरहेको अवस्थामा वरुणको बलमा श्रेयस ऐअरले क्याच ड्रप गरेपछि उनले जीवनदान पाएका थिए। तर कुलदीप यादवले क्याच ड्रपलाई महँगो साबित हुन दिएनन्। उनले रचिनलाई ३७ रनमा क्लिन बोल्ड गरे।​

केन विलियम्सन पनि ११ रनमा पभेलियन फर्किए। उनको विकेट कुलदीपले नै लिएका हुन् । चौथो नम्बरका ड्यारिल मिचेलले लामो इनिङ्स खेलेर ६३ रन जोडे। तीन चौका समेत प्रहार गरेका उनले १०१ बलको सामना गरे। टम लेथमले १४ तथा ग्लेन फिलिप्सले ३४ रनको योगदान गरेसँगै न्युजिल्यान्ड सम्हालिएको थियो। अन्तिममा मिचेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेर न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएका थिए। त्यसक्रममा अविजित रहँदै मिचेलले तीन चौका र दुई छक्का प्रहार गरे।​

किफायती बलिङ गरेको भारतका लागि वरुणले दुई विकेट लिए भने कुलदीपको नाममा पनि दुई विकेट रह्यो।

जवाफमा भारतका ओपनर शुभमन गिलले रोहित शर्मासँग १०५ रनको शतकीय साझेदारी गरे। ५१ बलमा ३१ रन बनाएका गिललाई मिचेल सान्टनरले आउट गराए। विराट कोहली एक रनमै आउट भए पनि भारत सहज अवस्थामा पुगिसकेको थियो।

दोस्रो विकेट गुमाउँदा भारतको खातामा १०६ रन थियो। ओपनर रोहितले आज उत्कृष्ट र लामो पारी खेल्दै न्युजिल्यान्डका बलरलाई दबाबमा राखेका थिए । ७६ रन बनाएको अवस्थामा रोहितलाई रचिन रवीन्द्रले आउट गराए।

भारतका लागि श्रेयस ऐयरले ४८ तथा अक्षर पटेलले २९ रनको पारी खेल्दै मध्यक्रम सम्हालेका थिए। हार्दिक पाण्ड्याले १८ तथा रवीन्द्र जडेजाले ९ रन बनाए । केएल राहुलले अविजित ३४ रन बनाए । उनी र जडेजा अन्तिमसम्मै क्रिजमा थिए।

बलिङतर्फ न्युजिल्यान्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान २-२ विकेट लिए। यस्तै रचिन रवीन्द्र र कायल जेमसनले १-१ विकेट लिए। भारतले सन् २०२४ मा आईसीसी टी ट्वेन्टी विश्वकपको उपाधि जितेको थियो।

Facebook Comments

सम्बन्धित समाचार