AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • राजनीति
  • ‘गभर्नर नियुक्तिमा ३ अर्ब रुपैयाँ बढाबढ भइरहेको छ रे’

‘गभर्नर नियुक्तिमा ३ अर्ब रुपैयाँ बढाबढ भइरहेको छ रे’

  • आइतवार, जेष्ठ ५, २०८२
‘गभर्नर नियुक्तिमा ३ अर्ब रुपैयाँ बढाबढ भइरहेको छ रे’

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)की सांसद रोशन कार्कीले सरकार निरंकुश हुँदै गएको बताएकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले व्यापक छलफल नगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

बजेट बन्नुअघि नै सर्वपक्षीय दलहरू बसेर बजेटमा समावेश हुने विषयवस्तुमाथि व्यापक छलफल गरेपछिमात्रै नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।

सरकारले जनतालाई सांसदमार्फत् ढाट्ने गरेको आरोप लगाउँदै उनले भनिन्–‘बजेट बनिसक्छ। मन्त्रालयगतको बजेट बाँटफाँट भइसक्छ। तब मात्रै राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आउँछ। नाटक हुन्छ। हामी पनि यसमा संशोधन हाल्छौं। बोल्छौं। मन्त्रीहरू आउनुहुन्छ। भिडियो गेम खेल्नुहुन्छ। खासखु्स गर्नुहुन्छ। उठेर हिँड्नुहुन्छ। फेरि अर्को नाटक आउँछ। अर्थमन्त्रीज्यूले सिद्धान्त र प्राथमिकता ल्याएर पढ्नुहुन्छ। हामीहरू गम्भीर भएर छलफल गर्छौं। जबकी हामीलाई थाहा छ। हामीहरू जनतालाई ढाटिराखेका छौं। विषयगत मन्त्रालयबाट बजेट बनिसकेको हुन्छ। बाँडफाँट भइसक्छ। कतिजना माननीयहरू उँगिरहेका हुन्छौं। निलो कुर्सीहरू खाली हुन्छन्। बाहिर यो दृष्य हेर्दा कस्तो लाग्छ होला ? मलाई त कहिलेकाही सभामुख हजुरको पनि माया लाग्छ। निला कुर्सीहरू,उँगिरहेका माननीयहरू, मन्त्रीहरू भिडियो गेम खेलेर बसिराखेको, खासखुस गरिरहेको दृष्य कस्तो देखिन्छ होला ?

सरकार निरंकुश हुँदै गएको उनको भनाइ छ। सामाजिक सञ्जालमा लेखेको भरमा मान्छेलाई थुन्न पाइन्छ भन्दै प्रश्न समेत गरिन्।

उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अरबौं रकमको डिल भइरहेको सुन्नमा आएको बताइन्। उनले भनिन्–‘यो सरकार भ्रष्टाचारमा लिप्त भएको छ। गभर्नर नियुक्तिमा ३ अरब रुपैयाँ बढाबढ भइरहेको छ रे।’

सम्बन्धित समाचार