महोत्तरी-भारतको बिहार राज्यमा आउँदो मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरीसँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द बन्द हुने भएका छन्।
बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ भने दोस्रो चरणको मतदान यही नोभेम्बर ११ तारिख हुँदै छ।
उक्त अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न त्यसतर्फ नेपाल-भारत सीमावर्ती क्षेत्रका नाका ३ दिन बन्द गरिने भएको हो।
भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही २५ कात्तिकमा हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि २५ कात्तिकको साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ।